पुर्वेली संस्कार र संस्कृतिमा आधारित ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

काठमाडौँ। पुर्वेली संस्कार र संस्कृतिलाई झल्काउने नयाँ लोकभाका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक भएको छ। गीतमा गायिका मेनुका राईको सुमधुर स्वर रहेको छ भने गीतकार चन्द्र जयपाल राईको शब्द संयोजन र बसन्त सापकोटाको संगीत रहेको छ।

माया, पिरती, मागी विवाह र भगाएर विवाह गर्ने जस्ता विषयमा दोहोरी चल्दै प्रेमको रोमान्टिक भावलाई गीतले जीवन्त बनाएको छ। गीतको भिडियोमा मौलिक पुर्वेली सांस्कृतिक झल्को दिने नृत्य र दृश्य समेटिएका छन्।

विक्रम डिसीको छायांकन, मनोज कार्कीको सम्पादन, र विल्सन विक्रम राईको निर्देशनमा तयार पारिएको भिडियोमा कलाकार विल्सन विक्रम राई, एलिसा राई, र सोनाम तामाङको उत्कृष्ट अभिनय र नृत्य देख्न सकिन्छ।

गीतको बारेमा बोल्दै गायिका मेनुका राईले पुर्वेली लोक भाकालाई सांगीतिक रुपमा पुनःस्थापित गर्दै संस्कार र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्य रहेको बताएकी छन्।

गीत सार्वजनिक भएसँगै यसले पुर्वेली भाकाका प्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्दै सांगीतिक क्षेत्रमा थप योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया