गोरखा दरवारमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना

पुस २८, गोरखा । भूकम्पका कारण भग्नावशेष अवस्थामा पुरर्याएको ऐतिहासिक गोरखा दरवारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरवारको गर्भगृहमा पुनःस्थापना गरिएको छ ।

राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुखले जानकारी दिए । “भूकम्पले दरवारमा क्षति पुगेपछि दरवारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरवार परिसरमा भग्नावशेष अवस्थामा थियो”, हेरचाह अड्डा प्रमुखका अनुसार  “त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।” भूकम्पपछि दरवार पुनःनिर्माणका क्रममा राजगद्दी पनि भग्नावशेष अवस्थामा रहेको थियो ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’बाट राजगद्दी र पृथ्वीनारायण शाहको बाल्यकालमा सेक ताप गरिएको भनिएको अँगेनाको ध्वनि पनि भूकम्पपछि बन्द भएको थियो । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो । गर्भगृहमा राजगद्दी राखिएसँगै अबदेखि गोरखा दरवार पुग्ने नागरिकले मूलदरबारमा राखिएको ऐतिहासिक गद्दी हेर्न पाउनेछन् ।

“विगतमा जस्तै अबदेखि गर्भगृहमा राखिएको राजगद्दी दरवार बाहिरको झ्यालबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ”, हेरचाह अड्डा प्रमुखले भने, “दरवारमा विगतमा बलिरहेको ध्वनिलाई निरन्तर गर्ने गरी कामको थालनीसमेत भएको छ ।”

भूकम्पले क्षति पुरर्याएको मूलदरवार, कालिका मन्दिर, रङगमहल, गोरखानाथ गुफालगायतका अधिकांश संरचना पुनःनिर्माण र मर्मत गर्ने कार्य लगभग सकिएपछि राजगद्दी पनि देखाउने उपयुक्त हुने भएकाले आवश्यक मर्मत गरी पुरानै ठाउँमा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया