BITM 2025: नेपाल शान्ति पर्यटनको विश्व केन्द्र बन्छ – पर्यटनमन्त्री

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्तिको पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पर्यटन बोर्डको आयोजनामा शुक्रबारदेखि सुरु भएको बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) २०२५ को उद्घाटन सत्रमा मन्तव्य दिंदै उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री पाण्डेले बुद्धको जन्मभूमि लुम्बिनीबाट पुनः शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको बताउँदै लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’को रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले भने, कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटजस्ता बौद्ध सर्किटहरूलाई समेटेर लुम्बिनीलाई विश्वस्तरको गन्तव्य बनाइनेछ।

बौद्ध पर्यटन प्रवर्द्धनका लागि सरकार विशेष सक्रिय रहेको बताउँदै मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए। त्यस्तै, सडक सञ्जाल तथा भौतिक पूर्वाधार विकासमार्फत तीर्थयात्रु र पर्यटकको सहज आवागमन सुनिश्चित गरिने उनले बताए।

युनेस्को प्रतिनिधिसँग भएको हालको संवाद उल्लेख गर्दै मन्त्री पाण्डेले लुम्बिनीलाई ‘जोखिमयुक्त’ सूचीमा नराख्न आग्रह गरिसकेको बताए। साथै, ऐतिहासिक तिलौराकोट क्षेत्रलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गर्न सरकारी प्रयास चलिरहेको पनि जानकारी गराए।

उनले BITM जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले नेपालको अध्यात्मिक पर्यटनलाई विश्व बजारमा स्थापित गर्न सहयोग पुर्‍याउने भन्दै यस्तो कार्यक्रमलाई दीर्घकालीन रणनीतिको अङ्गका रूपमा लिइएको बताए।

प्रतिक्रिया