काठमाडौं । २ भदौ २०८१ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशको आर्थिक सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले आर्थिक वृद्धिलाई तिव्र बनाउन र निजी क्षेत्रलाई सशक्त बनाउन नीतिगत स्थिरता महत्वपूर्ण रहेको बताएका छन्।
अध्यक्ष ढकालले पछिल्ला केही वर्षहरूमा निजी क्षेत्र संकुचित भएकाले रोजगारको अवसर घटेको र यसले गर्दा धेरै युवाहरू विदेशिनु परेको तथ्य औंल्याए। उनले नेपालमा प्रतिव्यक्ति आय अन्य मुलुकहरूको तुलनामा न्यून रहेको र यसलाई सुधार्न निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, “सन् १९६० मा नेपाल र कोरियाको प्रतिव्यक्ति आय समान थियो, तर आज कोरियाको प्रतिव्यक्ति आय ५१ हजार डलर पुगेको छ भने हाम्रो १४ सयमा सीमित छ। यो स्थिति सुधार्न निजी क्षेत्रलाई सहकार्य र नीतिगत स्थिरता प्रदान गर्नुपर्छ।”
अध्यक्ष ढकालले उद्योग, बैंकिङ क्षेत्र, र शिक्षा क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, निजी क्षेत्रलाई उत्साहित गर्न र लगानी प्रवाह बढाउन सरकारको सकारात्मक भूमिका महत्वपूर्ण रहेको बताए।
उनले भने, “हामीले निजी क्षेत्रको भूमिका संकुचित बनाउने कानुनहरूको विरोध गर्दै आएका छौं, किनभने यसले आर्थिक विकासलाई अवरुद्ध गर्ने सम्भावना छ। निजी क्षेत्रले गरेको योगदानलाई सरकारले सम्मान गर्नुपर्छ र त्यसलाई थप प्रोत्साहन गर्नुपर्छ।”
अध्यक्ष ढकालले भने पछिल्ला वर्षहरूमा विदेशी मुद्रा सञ्चिति उच्च रहेको र बैंकहरूसँग पर्याप्त लगानीको क्षमता भएकोले, निजी क्षेत्रले अब भविष्यमा ठूला परियोजनाहरूमा लगानी गर्न सक्षम हुने आशा गरिएको छ। महासंघले पनि निकट भविष्यमा थाइल्याण्डमा नेपाल-थाइल्याण्ड व्यापार मञ्चको आयोजना गर्ने योजना बनाएको छ, जसले स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न मद्दत गर्नेछ।
महासंघले विभिन्न कानुनहरूमा सुधारको प्रस्ताव राखेको र सरकारसँग निरन्तर संवाद गरिरहेको जानकारी अध्यक्ष ढकालले दिए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar