काठमाडौँ। घर जति नै ठूलो बनाएपनि बस्दै जाँदा साँघुरो हुँदै जान्छ। कहिले परिवारको संख्या थपिएर त कहिले आफ्नो आवश्यकता अनुसारका सामानहरू थप्दा घर नै साँघुरिँदै जान्छ अर्थात स्पेश कम हुन्छ त्यसैले कोठा वा तला थप्नै पर्ने हुन्छ। नभए पनि अर्को ठूलो स्पेस भएको घर नै लिनुपर्छ।
के सबै घरमा तला थप्न मिल्छ त? वा कस्तो कस्तो घरमा तला थप्न मिल्छ? कस्तो घरमा मिल्दैन। के के कुरामा ध्यान दिने, यहाँ हामी घरमा तला थप्दा ध्यान दिनुपर्ने कुराहरूबारे चर्चा गरौं।
१.प्राविधिकसँग परामर्श
सबैभन्दा पहिले प्राविधिकसँग सल्लाह गर्नु जरूरी हुन्छ। घरको जग, डिजाइन, नक्सा पास, घरको उमेर अनुसार के कस्ता सामाग्री प्रयोग गर्न सकिन्छ भन्ने बारे सल्लाह लिनुपर्छ। साथै पानी, ढलको व्यवस्थापन बारे पनि जानकारी लिनुपर्छ। प्राविधिकको सुझाव अनुसार काम गर्दा पछि आउने समस्याबाट छुटकारा पाइन्छ।
२. घरको अवस्था जाँच
पुराना घरहरू वाल सिस्टमबाट बनेका हुन्छन्। त्यस्तो घरमा इटा वा ढलान गरी संरचना थप्न अलि गाह्रो हुन्छ। यस्तोमा हामीले लाइट वेट प्यालन बोडहरू प्रयोग गर्न सक्छौं। वाल सिस्टमको घरमा क्षमता अनुसार कोठा थप्न मिलेपनि घटाउन भने मिल्दैन। त्यसैले यस्ता घरमा तला वा कोठा थप्दा विशेष ध्यान पुर्याउनु पर्छ।
३. गुणस्तरीय सामानको छनोट
अनुभवी र दक्ष कामदारसँगै निर्माणमा प्रयोग हुने सामग्री पनि गुणस्तरीय रोज्नुपर्छ। जस्तै सिमेन्ट किन्दा बनेको मितिले ३ महिना भित्र प्रयोग गरिनुपर्छ। यसबाहेक अन्य निर्माण सामग्री जस्तै झ्यालढोका, पार्केट, रंगरोगन, सेनीटरी सामान आदीको राम्ररी जानकारी राख्नुपर्छ।
४. सहि समय र स्थानको छनोट
घर बनाउँदा होस वा घरमा तला थप्दा समय र स्थानको सही छनोट गर्नुपर्छ। जस्तै चाडपर्व वा कुनै पारिवारिक जमघट अघि निर्माण काम सुरू गर्नु हुँदैन। घरमा निर्माण कार्य सुरू गर्दा पुरै घरको वातावरण खराब भएको हुन्छ। फोहोर व्यवस्थापन राम्रोसँग भएको हुँदैन। काम गर्दा आउने आवाजले समेत असर पारीरहेको हुन्छ। यस्तोमा तपाईको महत्वपूर्ण काम वा अन्य कुनै रमाइलो माहोललाई असर गर्न सक्छ।
५. योजना र बजेट व्यवस्थापन
काम सुरू गर्नु पहिले नै आफैंले राम्रोसँग योजना बनाएर बजेट व्यवस्थापन गर्नुपर्छ। आफ्नो बजेटबारे ठेकेदार वा निर्माण कम्पनीसँग पनि राम्ररी कुरा गर्नुपर्छ। आफुले निर्धारण गरेको रकममा के कति काम सम्पन्न हुन्छ त्यसबारे पनि स्पष्ट जानकारी लिनुपर्छ। काम गर्दै जाँदा बजेट अभावमा निर्माण अलपत्र छोड्नुभन्दा पहिले नै बजेट अनुसार योजना बनाउँदा राम्रो हुन्छ।
यसबाहेक ध्यान दिनुपर्ने केही प्राविधिक कुराहरू यसप्रका छन्ः
नक्सा पास गर्ने
तल्लो तलाको डिजाइनलाई ध्यान दिने
आशाका छडहरुलाई जोगाउने
बलियो घर बनाउने ध्यानमा ठूलो पिलर नराख्ने
सकेसम्म हलुका निर्माण सामग्री प्रयोग गर्ने,
माथिल्लो तला थपिरहँदा तल्लो तलाको स्ल्यावलाई पनि ध्यान दिने
पिलर, विम जस्ता स्टक्चर मेम्वरलाई नचलाई अरू काम गर्ने