काठमाडौं – नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको चौँथो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा संघको चौँथो वार्षिक साधारण सभा शुक्रबार राजधानीको येल्लो प्यागोडामा सम्पन्न भयो।
कार्यक्रममा संघका सदस्यहरू, उद्योगी व्यवसायीका अगुवाहरू, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। सहभागीहरूले उद्योगी व्यवसायीहरूले सामना गरिरहेका समस्या, अवसरहरू, र नीति निर्माणमा निजी क्षेत्रको योगदानका विषयमा आफ्ना विचार व्यक्त गरे।
साधारणसभामा बोल्दै उपप्रधानमन्त्री सिंहले देशको अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रको भूमिकाको महत्त्वलाई जोड दिनुभयो। उहाँले उद्योगी व्यवसायीका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै थप भन्नुभयो, “तपाईंहरू सक्रिय रूपमा अघि बढ्नुस्। व्यावसायीले उठाएका विषयमा सरकारले ध्यान दिएको छ। समस्या समाधान गर्न सरकार प्रयासरत छ।”
शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजी क्षेत्रलाई देशको समृद्धिमा योगदान पुर्याउने महत्त्वपूर्ण साझेदारको रूपमा औंल्याउँदै सरकारले निजी क्षेत्रलाई आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो।
कार्यक्रममा संघको वार्षिक प्रतिवेदन र आगामी योजना प्रस्तुत गरियो। उपप्रधानमन्त्री सिंहले संघले निजी क्षेत्रका मुद्दा उठाउँदै आएको र व्यवसायमैत्री वातावरण बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो।
साधारणसभामा संघले आगामी दिनमा व्यवसायको प्रवर्द्धन, नयाँ लगानीका अवसरको सिर्जना, र उद्योगी व्यवसायीहरूलाई अझ सशक्त बनाउन विभिन्न योजना अघि बढाउने घोषणा गर्यो। संघका अध्यक्षले निजी क्षेत्रको हितमा अझ बढी काम गर्ने प्रतिबद्धता जनाउँदै भने, “संघले सरकार र निजी क्षेत्रबीचको पुलको रूपमा काम गर्दै अर्थतन्त्रलाई सबल बनाउन सहयोग पुर्याइरहेको छ। आगामी दिनमा थप व्यवसायमैत्री वातावरण सिर्जना हाम्रो प्राथमिकता हुनेछ।”
साधारणसभामा सहभागी सदस्यहरूले संघको नेतृत्व र योगदानको प्रशंसा गर्दै उद्योगी व्यवसायीहरूको समस्या समाधानमा संघको सक्रिय भूमिकाको अपेक्षा गरेका थिए।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको चौँथो साधारण सभा व्यवसायी र सरकारबीच सहकार्यलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने महत्त्वपूर्ण मञ्च भएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar