काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले मनसुन गतिविधि केही सक्रिय भएको छ। हाल देशभर सामान्यतया बदलीको अवस्था छ।
कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशमा भने सामान्य बदलीसहित मध्यम वर्षा अपेक्षित छ। रातको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा र तराईमा मध्यम वर्षा हुने सम्भावना छ, जबकि कोशी, मधेश र कर्णालीमा मध्यम वर्षा सीमित रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
लुम्बिनी प्रदेशको तराई क्षेत्र तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकोले नदी-नाला र खहरे खोलाहरूमा पानीको बहाव बढ्ने, पहिरो र भू-क्षयको जोखिम रहन सक्ने भएकोले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सतर्क रहन र पछिल्लो मौसमी सूचना लिन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।