काठमाडौँ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ।
आगामी कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताइन्।
स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद रू ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलेसमेत शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाउने गुरुङले बताइन।
दौडमा सहभागिता जनाउन नेपाली महिलाले रू पाँच सय र विदेशी महिलाले पाँच डलर दर्ता शुल्क बुझाउनुपर्ने छ। म्याराथनसहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ। “वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौँ”, भन्ने नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो।
मास ट्रेकिङमा सहभागी हुनेका लागि भने नेपालीले रू १३ हजार ५ सय र विदेशीले २ सय डलर तिर्नुपर्नेछ। दसैँ तिहारको बिदामा घुम्न जान चाहनेहरुलाई लक्ष्यित गरि ट्रेक आयोजना गरिएको गुरुङले बताइन्।