काठमाडौँ। बुङ्गल हाइड्रो लिमिटेडले आइतबार (असार २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ।
कम्पनीले कुल ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरका ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको छ।
आयोजना प्रभावित बासिन्दामध्ये ६५ प्रतिशत शेयर अति प्रभावित क्षेत्र (सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ र ७) का बासिन्दालाई, तथा ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्र (बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११) का बासिन्दालाई बाँडफाँट गरिनेछ।
यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरका २ लाख ७ हजार ५०० कित्ता शेयर निष्काशन गरिएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ।