काठमाडौँ। पोखराको लामाचौरमा जारी ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत आज सम्पन्न खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ नेपाल पुलिसले जित हासिल गरेको छ।
नवआदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा यही भदौ १८ गतेदेखि लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भएको हो। महिलातर्फको प्रतिस्पर्धामा डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो।
हिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो। प्रतियोगितामा लगातार दुई खेल जितेर स्पष्ट छ अङ्क बनाएको डायमण्ड फाइनलमा पुगेको छ। डायमण्डले यसअघि एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।
दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३–० कै सोझो सेटमा हराएको छ। एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो। अन्तिम सेटमा पनि एभरेष्टलाई २५–१३ ले हराउन सफल भएको हो।
यससँगै एपिएफ पनि स्पष्ट छ अङ्कसहित फाइनलमा पुग्न सफल भयो। गण्डकी र एभरेष्टले भने कुनै अङ्क जोड्न सकेका छैनन्। चार टिम सहभागी प्रतियोगितामा ‘राउन्ड रोविन लिग’को आधारमा खेलाइएको छ।
यता पुरुषतर्फ भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो। पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो। दुई खेलमा जित हासिल गरेको पुलिसको छ अङ्क छ। पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो।
यसैगरी आजको अन्तिम खेलमा गण्डकी र एपिएफबीच प्रतिस्पर्धा हुँदाहुँदै दोस्रो सेट सकिँदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ। उक्त खेलमा दुवै टिमले १–१ सेट जितेका थिए ।
गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो। बिहान वर्षा भएपछि खेल ढिलागरी सुरू हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शङ्कर केसीले बताए।
स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुनेछ। यस्तै लिगका अन्य बाँकी खेल भोलि हुने केसीले जानकारी दिए। प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको छ। प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रू एक लाख ५० हजार एक सय ११, रू एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।