काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair - NITF) २०८२ आगामी वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
महासंघका अनुसार यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपाल सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा उक्त मेला आयोजना गर्न लागिएको हो।
मेलामा कुल ३०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा स्वदेशी एवं विदेशी उत्पादन तथा सेवाहरूको प्रदर्शन गरिनेछ। साथै, सार्क राष्ट्रहरू सहित चीन, कोरिया, जापानका व्यापारी तथा क्रेता समेतलाई आमन्त्रण गरिने छ।
महासंघका अनुसार मेलाको प्रमुख आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादनहरू, वस्तुगत संघका उत्पादनहरू, चारपांग्रे र दुईपांग्रे विद्युतीय (इभी) सवारी साधनहरू रहने छन्। मेलामा अन्तर्राष्ट्रिय खरिदकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य राखिएको छ।
मेलाको अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीसम्बन्धी छलफलहरू हुनेछन्। महासंघले यस वर्षको मेलामा करिब २० हजार स्वदेशी तथा विदेशी अवलोकनकर्ता आउने अपेक्षा गरेको छ।
महासंघले मेलामा जेष्ठ नागरिक तथा फरक क्षमताका व्यक्तिहरूलाई निःशुल्क प्रवेश र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
महासंघले २०८१ चैत ११ गतेदेखि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको छ। साथै, विभिन्न जिल्लामा आयोजित व्यापार मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनहरूलाई निःशुल्क स्टल प्रदान गरिने महासंघको विज्ञप्तिमा उल्लेख छ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपालको व्यापार प्रवर्द्धन, विदेशी लगानी आकर्षण, तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि महत्वपूर्ण मानिन्छ। महासंघले यस नियमित आयोजनाबाट देशको अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar