काठमाडौँ। प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन मनाइँने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरेर मनाइँदैछ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरू भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।
प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ। उदयकालको पञ्चमी तिथि भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
काठमाडौँका नागपोखरी र टौदह, ललितपुरको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नाग दह, कुण्ड र नाग स्थानमा आज विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै रहिआएको छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नाग देवताका रूपमा मानिन्छ।
श्रीकृष्णले बाल्यकालमै काली नागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ।
जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्। नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन ९ब्राह्मण० पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar