काठमाडौं | एनसेल नेपाल सुपर लिग २०२५ का विशेष अतिथिको रूपमा विश्वप्रसिद्ध ब्राजिलियन फुटबल खेलाडी रोबेर्टो कार्लोस यही वैशाख ५ गते (एप्रिल १८, २०२५) दुई दिने भ्रमणमा काठमाडौं आउन लागेका छन्। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा. लि. ले कार्लोसको आगमनको घोषणा गर्दै नेपाली फुटबलप्रेमीहरूका लागि ऐतिहासिक अवसरको सुरुवात भएको बताएको छ।
रोबेर्टो कार्लोसलाई विश्व फुटबल इतिहासकै उत्कृष्ट लेफ्ट ब्याकमध्ये एक मानिन्छ। रियल मड्रिड र ब्राजिल राष्ट्रिय टिमका पूर्व खेलाडी कार्लोस नेपाल भ्रमणका क्रममा वैशाख ६ गते (एप्रिल १९, २०२५) दशरथ रंगशालामा हुने एनएसएल २०२५ अन्तर्गतको बहुप्रतीक्षित Q1 खेलका प्रमुख अतिथि रहनेछन्।
नेपालमा हुन लागेको उनको आगमन नेपाली फुटबलका लागि ऐतिहासिक क्षण मानिएको छ। यस भ्रमणले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास लिइएको छ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, “फुटबल इतिहासका महानायकमध्ये एकजना व्यक्तित्वलाई नेपालमा स्वागत गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो। उनको आगमनले लिगको गरिमा थप बढाएको छ र सम्पूर्ण नेपाली फुटबल समुदायका लागि प्रेरणादायी क्षण हो।”
कार्लोसको आगमनसँगै वैशाख ५ र ६ गते अन्य विभिन्न रोचक कार्यक्रमहरू समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ। समर्थकहरू र मिडियालाई आगामी दिनमा थप जानकारीको लागि तयार रहन आग्रह गरिएको छ।
एनसेल नेपाल सुपर लिग २०२५ नेपाली व्यवसायिक फुटबलको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको लिग हो। विश्वस्तरीय खेलाडीको नेपाल आगमनले यस लिगको अन्तर्राष्ट्रिय स्तरमा प्रभाव र नेपाली फुटबलप्रतिको प्रतिबद्धतालाई बल पुर्याउने विश्वास लिइएको छ।