पुष १५ काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संगठन आइस्पानले केही दिनअघि पुस १५ गते (आज)पछि देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी दियो । भारतबाट आयातित ब्यान्डविथको भुक्तानी गर्न नपाएको र त्यहाँका कम्पनीले सेवा कटौती गर्ने ‘अल्टिमेटम’ दिएको भन्दै आइस्पानले इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो ।
टाटा, एयरटेललगायत कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकलाई डिसेम्बर ३१ अर्थात् पुस १५ सम्म बाँकी रकम तिर्न पत्र पठाएका थिए । तर, इन्टरनेट सेवा प्रदायकले करिब साढे दुई अर्ब रुपैयाँ सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी रकम भुक्तानी गर्न दिन नेपाल राष्ट्र बैंकलाई गर्नुपर्ने सिफारिस रोकेको छ ।
सेवा प्रदायकले उक्त बक्यौता आफूहरूले तिर्नु नपर्ने जिकिर गर्दै आएका छन् । यही विवादका कारण रकम तिर्न नसके भारतीय कम्पनीले ब्यान्डविथ उपलब्ध गराउन रोक्ने र नेपालमा इन्टरनेट बन्द हुन सक्ने चेतावनी सेवा प्रदायकले दिएका थिए ।
आइस्पानले तत्काल सेवा अवरुद्ध नगर्न भन्दै भारतीय कम्पनीलाई पत्र पठाइएको बताएको छ । करिब दुई अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको आइस्पानले जनाएको छ। तर सेवा बन्द नै नगर्ला भन्ने बिश्वास आइस्पानले लिएको छ ।”
सरकार र सेवा प्रदायकबीच बक्यौताका विषयमा सहमति नहुँदा विदेशी कम्पनीको भुक्तानी हुन नसकेको हो । भुक्तानी नगरे सेवा अवरुद्ध गर्न सक्ने चेतावनी दिइएको आइस्पानको भनाइ छ ।
विवाद समाधान गरिने भन्दै सञ्चारमन्त्री रेखा शर्माले इन्टरनेटजस्तो अत्यावश्यक सेवा नरोकिने र रोक्न नहुने बताउँदै आएकी छन् ।
