बन्दीपुर केवलकारको आईपीओ आजदेखि खुला

काठमाडौँ।  बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (मंगलबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँका दरले ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।

तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरू, आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रमस्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि हुनेछ। 

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ४ गते हुनेछ। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुने जनाइएको छ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.५ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाटआवेदन दिन सक्नेछन्।

प्रतिक्रिया