समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित

काठमाडौँ। एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ। 

चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा आज भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ०–४ गोलअन्तरले पराजित भएको हो। यस हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ।

नेपालले चार खेलमा तीन अङ्क मात्र जोडेको छ। पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलअन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१  गोलअन्तरले पराजित गरेको थियो। त्यसैगरी तेस्रो खेलमा उज्बेकिस्तानसँग नेपाल ६–० गोलअन्तरले पराजित भएको थियो। 

यस जितसगै बहराइनको अघिल्लो चरण प्रवेशको सम्भावनामा भने बाँकी नै छ। बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानको सामना गर्नेछ। बहराइनले आज खेलको पहिलो हाफमा दुई गोल गर्यो भने खेलको दास्रो हाफमा पनि दुई गोल थप्यो। 

समूह ‘बी’मा नेपालसहित उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन्। सन् २०२५ मा हुने एएफसी यु–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता छ। जसलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समुहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु–२० टोली एसियन कपमा छनोट हुनेछन्।  

प्रतिक्रिया