काठमाडौँ। एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे। यो खेलसँगै चन्द्रपुरले ४ खेलमा ६ अङ्क जोडेको छ। चन्द्रपुर अङ्क तालिकाको छैटौँ स्थानमा रहन सफल भएको छ।
त्यस्तै, बागमती पाँच खेलबाट चार अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ। खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न सङ्घर्षरत रहेका थिए। तर सफल भने हुन सकेनन् ।
त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो।
जितसँगै एपिएफ पाँच खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो। कर्णालीको भने यो लगातार चौथो हार हो। पाँच खेलबाट १ अङ्क मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् कायम छ।