८ महिनाको अवधिमा काठमाडौँ उपत्यकामा कति भए घरजग्गा कारोबार?

काठमाडौ।  चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउनदेखि फागुनसम्म) मा काठमाडौँ उपत्यकामा घरजग्गा कारोबार सामान्य रूपले बढेको छ। 

आठ महिनाको अवधिमा उपत्यकामा रहेका ९ वटा मालपोत कार्यालयहरूबाट २८ हजार ७७८ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। 

गत आर्थिक वर्षको सोही अवधिमा उपत्यकामा २८ हजार ३१६ घरजग्गाको लिखत पारित भएका थिए। गत आवभन्दा चालु आ.व.मा ४६२ घरजग्गा कारोबार बढी भएको विभागको तथ्यङ्कले देखाउँछ। 

कुन महिना कति कारोबार भयो?

काठमाडौँ उपत्यकामा साउन महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच भएका छन्। भूमि विभागका अनुसार साउनमा उपत्यकामा ३९ सय २१ घरजग्गा कारोबार भएको देखिन्छ।

त्यसपछि भदौ, असोज र कार्तिकमा उपयत्काको घरजग्गा कारोबार निरन्तर घटिरहेको देखिन्छ। भदौमा ३६ सय २३, असोजमा ३१ सय ९४, कार्तिकमा २७ सय ९ सय घरजग्गा कारोबार भए। 

मंसिरदेखि भने उपत्यकाभित्र कारोबार निरन्तर बढ्दै गइरहेको देखिन्छ। विभागका अनुसार मंसिरमा ३६ सय ६२, पुसमा ३८ सय ८९, माघमा ३८९० र फागुनमा पनि ३८ सय ९० घरजग्गा कारोबार भएका छन्।

भक्तपुर मालपोतबाट सबैभन्दा धेरै किनबेच

काठमाडौँ उपत्यकाका तीन जिल्लामा ९ मालपोत कार्यालय छन्, जसम्धये भक्तपुरमा एक, ललितपुरमा दुई र काठमाडौँमा ६ वटा कार्यालय रहेका छन्। 

आठ महिनाको अवधिमा सबैभन्दा धेरै भक्तपुर मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएको देखिन्छ। भक्तपुरबाट ६ हजार ७६७ घरजग्गा किनबेच हुँदा ललितपुरको लगनखेल मालपोतबाट ६ हजार २८७ घरजग्गा किनबेच भएका छन्।

सबैभन्दा कम ललितपुरको गोटीखेल मालपोतबाट किनबेच भएको देखिन्छ। यो मालपोतबाट ९ महिनामा ११२ घरजग्गा किनबेच भएका छन्।

काठमाडौँको डिल्लीबजार मालपोत कार्यालयबाट १४ सय ३१, जावहिलबाट ३४ सय, कलंकीबाट ४६ सय २५, साँखुबाट दुई हजार २३, मनमैंजुबाट २९ सय ४३ र टोखा मालपोतबाट ११ सय ९० घरजग्गा किनबेच भएका छन्।  

प्रतिक्रिया