काठमाडौँ। जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रू ५० लाख बराबरका केरा भित्र्याएका छन्।
आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा रू ५० लाखको केरा ल्याइएको छ। पहिलेपहिले रू २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकोमा यस वर्ष रू ५० लाखको केरा ल्याइएको व्यवसायीहरूले बताए।
जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन्। विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ।
ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले रू ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन्। जलेश्वर बजारमा यसपालि केरा प्रतिघार ६–७ सयदेखि १ हजार, १५ सयसम्म बिक्री भइरहेको छ।
बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन्। जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar