पुष १७ काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशङ्कर बिहीबार नेपाल भ्रमणमा आउँदै छन् । त्यसकाे पूर्वसन्ध्यामा आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग परामर्श गरेका छन् ।
छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिएको मन्त्री सादउले जानकारी दिएका छन् ।
“उहाँहरुले भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकामा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिनुभयो” मन्त्री साउदले भन्नुभयो ।
छलफलमा बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि सुझाव प्राप्त भएको उनले बताए ।
मन्त्रालयमा सम्पन्न छलफलमा पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरु मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता रहेको थियो ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग भारतीय विदेशमन्त्री नेपाल आउन लागेका हुन् । उनी दुई दिनसम्म नेपाल भ्रमणमा रहनेछन् ।