पञ्चेबाजा संरक्षणमा जुटे लामिचौरका विद्यार्थी

बागलुङ (रासस), २ मंसिर : बागलुङ नगरपालिका–८ लामिचौर स्थित सिगाना माध्यमिक विद्यालयका विद्यार्थी पञ्चेबाजा संरक्षणमा जुटेका छन् । पछिल्लो समय गाउँघरमा पञ्चेबाजा बजाउने प्रचलन हराउन थालेपछि कक्षा ३ देखि १० सम्मका विद्यार्थी पढाईसँगै बाजा बजाउन थालेका हुन् ।

विद्यालयमा हुने सभा समारोहमा बालबालिकाले बाजा बजाउने गर्छन् । विद्यालयका शिक्षक रामबहादुर नेपालीले विद्यार्थीलाई बाजा बजाउन सिकाउँदै आउनु भएको छ । स–साना बालबालिकाले बाजा बजाउने चासो दिएपछि सिकाउन थालिएको होे । 

विद्यालयमा करिब १५ जना विद्यार्थीले अहिले बाजा बजाउने गर्छन् । विद्यालयमा बाजा बजाउने अधिकांश ५–१५ वर्ष उमेरका विद्यार्थी छन् । पहिले गाउँमा धेरै पञ्चेबाजा टोली रहेको तर पछिल्लो समय निकै कम भएको हुँदा आफूहरु यसको संरक्षणमा जुटेको विद्यार्थीको भनाइ छ । घरमा बाउबाजेले बजाउँदा अलिअलि सिकेको सुनाउँदै अहिले विद्यालयमा शिक्षकले सिकाउन थालेपछि पूर्ण रुपमा जान्ने भएका छन् ।

दलित समुदायको बाहुल्यता रहेको लामिचौरमा पछिल्लो समय युवा पुस्ता विदेश पलायन हुँदा पुख्र्यौली पञ्चेबाजा बजाउने प्रचलन हराउँदै छ । अहिले विद्यार्थीले घरबाटै बाजा लिएर बजाउने गर्छन् ।

प्रतिक्रिया