पोखरा-छेन्दु नियमित उडान मंगलबारदेखि सुरु, नेपाल-चीन हवाई सम्पर्कमा नयाँ आयाम

काठमाडौँ। नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा चीनको छेन्दु सहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरामा नियमित उडान थालनी गर्नेछ। नेपाल पर्यटन बोर्डले यस उडानले नेपाल-चीन हवाई सम्पर्कलाई मजबुत बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान, र व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

नेपाल पर्यटन बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पोखरा-छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि सहज यात्राको अवसर प्रदान गर्नुका साथै चिनियाँ पर्यटकहरूलाई पोखराको सौन्दर्य अवलोकनको सुनौलो अवसर दिनेछ।

यस हवाई सम्पर्कले नेपाल सरकारले घोषणा गरेको 'पोखरा पर्यटन वर्ष' तथा चीन सरकारले घोषणा गरेको 'भिजिट नेपाल २०२५' अभियानलाई टेवा पुग्ने विश्वास गरिएको छ।

छेन्दुबाट पोखरामा आउने सिचुआन एयरलाइन्सको पहिलो व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल 'पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५' का लागि चीन जानेछ।

नेपाली टोलीले छेन्दु, लुझाउ, लेसान लगायतका चिनियाँ सहरमा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग व्यावसायिक छलफल गर्ने योजना रहेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार, यो पहलले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाल-चीन पर्यटन सहकार्यलाई थप मजबुत बनाउनेछ।

नेपाल पर्यटन बोर्डले सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् लगायतका सबै सरोकारवालालाई यस ऐतिहासिक हवाई सम्पर्क सफल बनाउन सहयोग पुर्‍याएकोमा आभार व्यक्त गरेको छ।

नयाँ हवाई सम्पर्कले सांस्कृतिक आदान-प्रदानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अझ आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया