पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाडौँ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। 

निगमको सञ्चालक समितिको आज बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ घटाएको हो।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रूपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रूपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रूपैयाँ तोकेको छ।  यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रूपैयाँ ५० पैसा, दोश्रो वर्गका लागि प्रतिलिटर १५० रूपैयाँ र तेस्रो वर्गका लागि १५१ रूपैयाँ निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ।

डिपोदेखि १५ किलोमिटरसम्मको लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ।  इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रूपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर १ रूपैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया