काठमाडौँ। स्वस्तिक लघुवित्तले असार २७ गतदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको हो।
स्वस्तिकले जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँमध्ये ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दैछ। उक्त आईपीओको १० प्रतिशत अर्थात् २३ हजार १ सय कित्ता शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउने छन्।
स्वस्तिकको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ। असार २७ गतेबाट निष्काशन खुला हुने आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ।
लघुवित्तले आईपीओ निष्काशन गर्न स्वीकृती पाएको सेयरमध्ये ०.५ प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ। त्यस्तै ५ प्रतिशतले हुने ११ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषहरू (म्युचुअल फन्ड) को लागि छुट्याएको छ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्याएको शेयर निष्काशन गरेपछि बाँकी रहेको १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सर्वसाधारणहरूको लागि निष्काशन हुनेछ।
लघुवित्तले चालु आर्थिक वर्षको चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २५ लाख ३८ हजार रुपैयाँ मुनाफा कमाएको छ। त्यस्तै लघुवित्तको सञ्चित मुनाफा ४९ लाख ८६ हजार र जगेडा कोषमा २ करोड ६६ लाख ८४ हजार रुपैयाँ छ।
चैत मसान्तसम्म प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा रहेको छ भने नेटवर्थ १९१ रुपैयाँ ४० पैसा रहेको छ। ३ वर्षपछि कम्पनीको ईपीएस २६.५० रुपैयाँ तथा नेटवर्थ १९४.१६ रुपैयाँ हुने प्रक्ष्येपण गरिएको आह्वानपत्रमा उल्लेख गरिएको छ।