काठमाडौँ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरूप झोला वितरण अभियान शुरू गरेका छन्।
उनले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालय (४९ वटा) मा अध्ययनरत विद्यार्थीलाई उपहारस्वरूप झोला वितरण अभियान शुरू गरेको हो।
उनले हालसम्म ४ वटा विद्यालयका ३ सय ५४ विद्यार्थीलाई झोला वितरण गरिसकेका छन्। दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका ६५, वडा नं–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयका १ सय २९, वडा नं–७ टेम्मास्थित शान्ति माध्यमिक विद्यालयका १ सय ३० र सोही वडाको आदर्श सदन आधारभूत विद्यालयका ३० विद्यार्थीलाई वितरण गरेका हुन्।
राईले सम्बन्धित विद्यालयमै पुगेर उपहारस्वरूप झोला उपलब्ध गराएपछि विद्यार्थी हर्षित भएका छन्। व्यक्तिगत खर्चमा झोला खरिद गरेर बाल विकास केन्द्रदेखि कक्षा–१० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि वितरण गर्दै आएका राईलाई सम्बन्धित विद्यालयले सम्मान पनि गरेको छ।
झोला अभावमा हातमा किताब÷कापी बोकेर हिँड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै आफ्नो व्यक्तिगत खर्चमा उपहारस्वरूप झोला प्रदान गर्ने अभियान शुरू गरेको उनले बताए। “सानोमा दुई घण्टा हिँडेर स्कूल धाउन पर्थ्यो। हातमा किताब बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताब खसेर भिजेको थियो”, उनले भने, “किताब/कापी, डटपेन हराउने समस्या बेहोरेका थियौँ। त्यही बिगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरेको हुँ।”
वि.सं. २०८४ सालसम्ममा गाउँपालिकाभरीका सबै माध्यमिक तहका विद्यालयमा अध्ययनरत छात्र/छात्रालाई झोला वितरण गर्ने लक्ष्य रहेको राईले जानकारी दिए। विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउन पनि झोला वितरण अभियान शुरू गरेको उनको भनाइ छ।
आफ्नो कमाइको २० प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरेको उनले बताए। वि.सं. २०५८ साल मङ्सिर १५ गते जनता माध्यमिक विद्यालय भण्डारीडाँडाको विद्यार्थी सङ्गठनको अध्यक्षबाट राजनीति शुरू गरेका उनीले काठमाडौँमा रेष्टुरेन्ट तथा काष्ठकला व्यवसाय सञ्चालन गरिरहेका छन्।