काठमाडौं। बज्र इनर्जी भेन्चर्स प्रा.लि. द्वारा प्रवर्धित २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। लिड बैंकको रूपमा एनएमबि बैंक लिमिटेड र सदस्य बैंकको रूपमा कृषि विकास बैंक लिमिटेडले संयुक्त लगानी गरेका छन्।
अन्नपुर्ण हिम श्रृङ्खलाबाट उत्पत्ति हुने मादी नदीमा निर्माणाधीन यो आयोजना रन अफ रिभर प्रकारको हो। प्रारम्भमा २४.८ मेगावाट क्षमतामा अनुमति प्राप्त आयोजना हाल ३१ मेगावाटमा स्तरोन्नतिको तयारीमा रहेको छ। प्राविधिक अध्ययन सम्पन्न भइसकेको र लाइसेन्स अपग्रेडको लागि विद्युत विकास विभागमा निवेदन दिइसकिएको छ।
पोखराबाट झण्डै २० किलोमिटर टाढा रहेको यो आयोजना सम्पन्न भएपछि वार्षिक १४७.१२ गिगावाट आवर ऊर्जा उत्पादन हुने अपेक्षा गरिएको छ। प्रस्तावित स्तरोन्नतिपछि वार्षिक उत्पादन १८३.११ गिगावाट आवर पुग्नेछ। परियोजना २४.५५ क्युसिक पानीको प्रवाह र ३९३.६५ वर्ग किलोमिटर क्याचमेन्ट क्षेत्रमा सञ्चालन हुनेछ।
नेपाल सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यमा टेवा पुर्याउने उद्देश्यसहित परियोजना निर्माण कार्य ४२ महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
२०७८ माघ २८ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (PPA) भइसकेको आयोजनाको कुल अनुमानित लागत ५३५ करोड रुपैयाँ रहेको छ। जसमध्ये ३७४.५ करोड परियोजना ऋण अन्तर्गत जुटाइनेछ।
एनएमबि बैंकले २५० करोड र कृषि विकास बैंकले १२४.५ करोड ऋण लगानी गर्नेछन्। बाँकी १६०.५ करोडमध्ये ७०% संस्थापक लगानी र ३०% सर्वसाधारणका लागि आईपीओमार्फत उठाउने योजना छ।
आयोजनाको प्राविधिक सल्लाहकार क्लिन इनर्जी कन्सल्टेन्ट (CEC) रहेको छ भने निर्माण प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ। यो आयोजनाले कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशको ऊर्जा पूर्वाधारमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।