काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) र भन्सार विभागबीच आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी महत्वपूर्ण छलफल भएको छ। बुधबार नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा व्यापक छलफल गरेको हो।
छलफलका क्रममा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूमा बसेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटसम्बन्धी सुझावहरू विभागसमक्ष पेश गरेका छन्। उनले अटोमोबाइल क्षेत्रको दीर्घकालीन समृद्धि तथा व्यवस्थित व्यवसाय सञ्चालनका लागि सरकारले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए।
महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यापार नीतिलाई आत्मसात् गर्नुपर्ने बताउँदै सरकार नीतिगत सुधारका लागि सकारात्मक रहेको धारणा राखे। उनले भन्सार विभाग व्यवसायीहरूका जायज मागहरूप्रति संवेदनशील रहेको र सहकार्यका आधारमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।
छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्ट्स समितिका उपसभापति दीपक कुमार, सदस्य अमरज्योति रञ्जितकर तथा अंकुर खनाललगायतको उपस्थिति रहेको थियो।
यस छलफलले अटोमोबाइल व्यवसायको नीति निर्माणमा नाडाको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar