काठमाडौँ। कार्तिक महिनामा घरजग्गा कारोबारमा गिरावट आएको छ। सरकारले भूउपयोग नियमावली-२०७९ संशोधन गरी जग्गा कित्ताकाटमा समेत सहजीकरण गरे पनि कारोबारमा भने उत्साह देखिएको छैन्।
कार्तिकमा ३३ हजार ५१४ मात्रै पारित भएको छ। गत वर्षको कार्तिकमा २६ हजार ४६ घरजग्गाको लिखत पारित भएको थियो। कार्तिकमा कारोबार घटेसँगै राजस्वमा समेत गिरावट आएको छ।
कार्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ मात्रै संकलन भएको छ। असोजमा संकलित राजस्व ३ अर्ब ८ करोड १२ लाख संङ्कलन भएको थियो ।
कहाँबाट, कति भयो किनबेच?
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन्। जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ।
भक्तपुरबाट ६ सय ७७ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट ९ संख्यामा घरजग्गा लिखत पारित भएको छ।
त्यसैगरी, लगनखेलबाट ५ सय ३६, कलंकीबाट ४ सय १४ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन्। जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ।
सुनसरीबाट १२ सय ४६ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय, सिर्दीवासबाट कुनै पनि लिखत पारित हुन सकेन।
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालय अग्रस्थानमा छन्। कार्तिकमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै २४ करोड ५७ लाख ५४ हजार रूपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ।
यस्तै, चावहिल मालपोतबाट २१ करोड ४२ लाख ४६ हजार, भक्तपुर मालपोतबाट १७ करोड ६९ लाख २३ हजार, कलंकी मालपोतबाट १७ करोड ८ लाख ४४ हजार र डिल्लिबजार मालपोत बाट १५ करोड ७७ लाख २० हजार रूपैयाँ राजस्व संकलन भएको छ।