काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ। भरतपुर महानगरपालिका–१ स्थित नदी किनारामा रहेका बस्तीहरुमा बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण प्रभावित बस्तीका बासिन्दा जोखिममा रहेका छन्।
यसैगरी, धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी–मलेखु सडक पहिरोका कारण अवरुद्ध बनेको छ। नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ, जसका कारण सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ। पहिरोले खसेका ढुङ्गा र रुखहरुका कारण बाटो खुलाउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो।
अविरल वर्षाले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ खजुरिया, रोहिणी गाउँपालिका वडा नम्बर ५ को बरवा र तरकुलहा गाउँ पनि डुबानमा परेको छ। मायादेवीको खजुरिया गाउँमा तिनाउ खोलाको पानी पसेर ३ वटा घरमा सामान्य क्षति भएको छ। प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरका अनुसार पानी पसे पनि ठूलो क्षति भने भएको छैन। रोहिणी गाउँपालिका वडा नम्बर ५ मा तुरिया खोलाको पानी पसेर केही घरहरु डुबानमा परेका छन् तर धनजनको नोक्सान भने भएको छैन।
डुबानका कारण तरकुलहा र बरवामा करिब ५ सय बिघा बढी जग्गाको धानबाली नष्ट भएको स्थानीयले बताएका छन्। पहिरो र बाढीका कारण मुलुकभर बस्ती र सडकमा क्षति पुगेको छ, जसले जनजीवनमा असर पुर्याएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar