ललितपुर सिटीलाई काठमाडौं रेजर्सले रोमाञ्चक बराबरीमा रोके: एनएसएल २०२५

काठमाडौं । एनसेल नेपाल सुपर लिग (NSL) २०२५ को उद्घाटन खेल हिजो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ, जहाँ साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको रोमाञ्चक भिडन्त २-२ को बराबरीमा टुंगियो।

पहिलो हाफमा ललितपुर सिटीले २-० को अग्रता बनाएको थियो। विदेशी खेलाडी जोनाथन कान्टीलानको प्रहारले काठमाडौंका कमल श्रेष्ठलाई लागेर गोलमा परिणत हुँदा पाँचौं मिनेटमै ललितपुरले खाता खोलेको थियो। १५ औं मिनेटमा आदित्य शाक्यको सुन्दर प्रहारले ललितपुरको अग्रता दोब्बर बनायो। पहिलो हाफमा ललितपुरले खेलमा पकड जमाएको थियो।

तर, दोस्रो हाफमा काठमाडौंले उत्कृष्ट पुनरागमन गर्‍यो। ७५ औं मिनेटमा अमान्डो डियोपको प्रहारले खेललाई २-१ मा ल्यायो। त्यसपछि, इन्ज्युरी समयको पाँचौं मिनेटमा भिन्सेन्ट कोजिएलोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

यो बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडे। नेपाल सुपर लिगको इतिहासमा यो पहिलो पटक हो, जब ललितपुर र काठमाडौंबीचको खेल बराबरीमा टुंगिएको छ। यसअघि, तीन खेलमा काठमाडौंले र एक खेलमा ललितपुरले जित निकालेका थिए।

अबको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसी भिड्नेछन्। खेल साँझ ६ बजे तय गरिएको छ।

यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।

प्रतिक्रिया