घर र जग्गामध्ये कुनमा लगानी गर्नु राम्रो? यस्ता छन् फाइदा र चुनौतिहरू

काठमाडौँ। आजभोली घर तथा जग्गामा गरिने लगानी दीर्घकालीन वित्तीय सुरक्षाको लागि महत्वपूर्ण कदम हो।  तर, जब घर र जग्गा दुई मध्ये रोज्नुपर्दा कुनमा लगानी गर्ने भन्ने दोधार हुन्छ भने यसको निर्णय गर्न झनै जटिल छ।      

कुन राम्रो छ भनेर मूल्याङ्कन तपाईंको उद्देश्य, बजेट, र बजारको स्थितिमा भर पर्दछ। आजको लेखमा दुवैका फाइदा, जोखिम, र प्रयोगका सम्भावनाबारे चर्चा गरौँ। 

घरमा लगानी गर्नुका फाइदाहरूः 

घरमा गरिने लगानीले तुरून्तै प्रतिफल दिन्छ। त्यसैले घरमा गरिने लगानी शीघ्र लाभ लिन चाहने र व्यक्तिगत प्रयोजनका लागि लगानी गर्न चाहनेहरूका लागि उपयुक्त हुन्छ।  शहरी क्षेत्रमा किनबेच र भाडाका दृष्टिकोणले आवासीय प्रपर्टिको माग उच्च छ।  यसो हुँदा घर भाडामा लगाउँदा नियमित आम्दानी पाउन लिन सकिन्छ।  सामान्यतया घर भाडामा लगाएर ५५ देखि ८५ प्रतिफल लिन सकिन्छ।  यसको प्रतिफल स्थान र बजारको अवस्थाले फरक पर्न सक्छ।  

काठमाडौँ उपत्यकाको सन्दर्भलाई हेर्दा घरको माग उच्च छ।  त्यसमा पनि भाडामा दिने घरहरूको उच्च माग त झनै धेरै छ। यसकारण घरमा गरेको लगानीबाट लगानीकर्ताले राम्रो पुनर्बिक्री मूल्यमा पनि पाउने सम्भावना हुन्छ। 

यस्ता छन् चुनौतीहरूः 

घरमा लगानी गर्नका लागि धेरै ठूलो पुँजीको आवश्यकता पर्छ। त्यस्तै  संरचनालाई समयसमयमा मर्मत सम्भार  गर्नुपर्ने हुँदा घरको मजबुती र डिजाइनका कुराले Resale Value मा फरक पार्छ। सामान्यतया २० वर्षपछि घरको मूल्य पनि घट्न थाल्छ भने ५० वर्षपछि चाहिँ जग्गाको मात्रै मूल्य पाउने अवस्था रहन्छ।

जग्गामा लगानी गर्नुका फाइदाहरूः

दीर्घकालीन लाभ र मूल्यवृद्धिको लागि ‘जग्गामा लगानी’ गर्नु एउटा राम्रो विकल्प हो। समयसँगै जग्गाको मूल्य निरन्तर वृद्धि हुने हुँदा लगानी झनै सुरक्षित र दिगो हुन्छ। शहरीकरण र पूर्वाधार विकास भइरहेका क्षेत्रहरूको जग्गा खरिद गर्दा उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना हुन्छ। कारोबार चलायमान रहेको अवस्थामा बस्ती विकास हुँदै गरेको क्षेत्रमा वर्षेनी कम्तिमा ३ प्रतिशत देखि बढिमा १० प्रतिशत सम्म जग्गाको मूल्य बढ्छ।  यसो हुँदा कम लगानीमै दीर्घकालीन लाभ लिन सकिन्छ। त्यस्तै, जग्गामा मर्मत र व्यवस्थापन जस्ता अतिरिक्त क्रियाकलापको झन्झटहरू कम हुने हुँदा खर्च पनि न्यून रहन्छ। साथै आफ्नो प्राथमिकता अनुसार संरचना निर्माण गरेर उपयोग गर्न र खाली जग्गा भाडामा लगाएर पनि थप आम्दानी गर्न सकिन्छ।

यस्ता छन् चुनौतीहरूः 

जग्गामा लगानी गर्दा दीर्घकालीन फाइदा त हुन्छ तर यसको आफ्नै चुनौतीहरू धेरै छन्। जग्गाबाट प्रतिफल लिनका  लागि लामो समय पर्खनु पर्ने हुन्छ। यसका साथै, उपयुक्त स्थानमा सही मूल्यमा जग्गा फेला पार्न चुनौतिपूर्ण हुनसक्छ। अन्यथा भविष्यमा लाभ लिन गाह्रो हुन सक्छ। जानाजान अरूको जग्गामा पर्नेगरी संरचना बनाइँदैनन्।  तर,जग्गाको नयाँ हाल साविक हुँदा र कहिलेकाहीँ नयाँ प्रविधिबाट नक्सा जारी गर्दा कतिपय जग्गाका साँध सीमानाहरू तलमाथि भइरहन्छन्। कतिपय अवस्थामा यसैका कारण तनाव झेल्नुपर्ने अवस्था आउँने हुँदा यसले समय र खर्च दुबै बढाउन सक्छ।   

प्रतिक्रिया