बम विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुग्यो

पुष १९ एजेन्सी । इरानका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका २ वटा विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुगेको छ । बुधबार भएको विस्फोट लगत्तै कम्तीमा ७३ जनाको ज्यान गएको पुष्टि भएको थियो ।

सुलेमानीको स्मृति दिवसमा केरमन शहरको साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । घटनामा अरु १५० जनाभन्दा धेरै घाइते भएको विभिन्न सञ्चार माघ्यमहरुले जनाएका छन् । सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिसहरू चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेइपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा मानिन्थ्यो । सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै १ नम्बर आतङ्ककारीको संज्ञा दिएका थिए ।

केरमन प्रान्तका उप–गभर्नरले यो घटनालाई आतङ्कवादी आक्रमण भएको टिप्पणी गरेका छन् । तर कसले विस्फोट गराएको हो भन्ने अहिलेसम्म खुल्न सकेको भने छैन ।

प्रतिक्रिया