काठमाडौँ। खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन्। थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन रहेको छ।
साउनदेखि भदौभित्र यो पूजा गर्ने परम्परा रहि आएको छ। पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन। धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्पराकालदेखि नै हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुरका स्थानीयहरू बताउँछन्।
वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरूवा र कशौकाको हुने गर्दछ। यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ।
गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दुर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने प्रचालन रहेको छ। पूजा हुनुअघिसम्म मादल बजाउन नपाइँने, र पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन भने रहेको छ।
गाँधी, गुभियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ। केही कीरा जिउँदै गुरूवाले चपाएर खाने पनि गर्दछन्। यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने जन विश्वास रहेको छ। तान्त्रिक विधिबाट सहायक गुरूवाका रूपमा रहेका केशौकाको जीउमा देवता सवार गराउने चलन समेत रहेको छ। केशौकाको जीउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्दछन्। शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाध्ने कार्य गरिन्छ। आगोले नछोएमा सुभसङ्केतका रूपमा लिइन्छ। दुई दिन लगाएर यो पूजा सम्पन्न गरिन्छ।
यो पूजा गरेमा धानबाली सप्रिने र खेतबारीमा हरियाली भइरहने भन्ने विश्वास रहेको जनविश्वास रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar