काठमाडौँ। हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले आम सर्वसाधारणका लागि जारी पूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आइपिओ जारी गरिसकेको छ।
गत जेठ ९ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यसका साथै लगानीकर्ताले मेरा शेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आइपिओ निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।