काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ।
बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ।
सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालालाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माण गर्न कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ। प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकबीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवर्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्न नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयले जानकारी दिएको छ।
कार्यक्रममा काठमाडौँमा रहेका २ सय जना र काठमाडौँ बाहिरका ८ सय जना गरी करिब १ हजार जना स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य सरोकारवाला सहभागी हुने अनुमान छ। सम्मेलनपछि हामीले स्वास्थ्य क्षेत्रमा डायस्पोरा इन्गेजमेन्ट वृद्धि गर्ने अपेक्षा गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar