काठमाडौँ। तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार अब तेह्रथुम पावरको हकप्रद शेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि आज साउन ४ गतेसम्म आवेदन दिने म्याद रहेको थियो। मागबमोजिम आवेदन नपरेकोले म्याद थप गरिएको हो।
कम्पनीले गत असार १६ गतेबाट आफ्ना शेयरधनीलाई हकप्रद शेयर खुला गरेको हो। नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। त्यसैगरी धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौँ नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरू छथर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि शेयरधनीहरूले हकप्रद शेयरमा आवेदन दिन सकिनेछ।
तेह्रथुम पावरले हकप्रद शेयर निष्कासनका लागि गत जेठ ५ गते बुक क्लोज गरेको थियो। जेठ ४ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।