काठमाडौँ-तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो, प्रधान सेनापतिको भर्चुअल अवलोकन

काठमाडौँ / काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ।

प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यको अवलोकन गरे। उनले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिए।

प्रधान सेनापति शर्माले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए।

उक्त कार्यक्रममा बलाधिकृत रथी श्री अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो।

#सुरुङमार्ग

प्रतिक्रिया