काठमाडौँ। ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभराधाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ। केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हलुका हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ।
हिमपातसँगै मौसम अझै चिसो बनेको छ। हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिले जानकारी दिएको छ।
पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ।
३ हजार ७९४ मिटरको उचाइमा पर्ने सो मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थयात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ।
हिमपात भएपछि जिल्लामा चिसो निकै बढेको छ। सदरमुकाम फुङ्लिङसहित जिल्लाभरि नै तुलनात्मक रूपले चिसो बढेको छ।
जल तथा मौसम विज्ञान कार्यालय धरानको ताप्लेजुङ फिल्ड कार्यालयले बिहीबार बिहानको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस मापन भएको जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar