देशभरका मालपोत कार्यालयबाट २ अर्ब ७० करोड राजस्व सङ्कलन

काठमाडौँ।  देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रू २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ। घर जग्गाको कारोबारमा अपेक्षित रूपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनले देखाएको छ। 

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो। असोजमा रू ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४ सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो। 

विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरूमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाट रू २४ करोड ५७ लाख ५४ हजार ८ सय ५८ बराबर राजस्व सङ्कलन भएको छ। 

मालपोत कार्यालय गोटीखेल ललितपुरले रू ४ लाख ६७ हजार ७ सय २०, भक्तपुरले रू १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले रू १५ करोड ७७ लाख २० हजार ५ सय ४५ बराबरको राजस्व सङ्कलन भएको छ। विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रू २१ करोड ४२ लाख ४६ हजार ९ सय ९२, कलङ्की मालपोत कार्यालयले रू १७ करोड ८ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयबाट रू ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयबाट रू ५ करोड ५० लाख ९३ हजार ६ सय ३२, टोखा कार्यालयले रू ३ करोड ५७ लाख २७ हजार ६ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ। 

मुलुकभर १३३ मालपोत कार्यालय रहेका छन्। ती कार्यालयले रू १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ। यस्तै, रजिष्ट्रेशन शुल्क रू १ अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर रू ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० सङ्कलन गरेको छ। 

विभागका अनुसार गत साउनमा रू ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५, भदौमा रू ३ अर्ब ९ करोड २ लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो। 

प्रतिक्रिया