काठमाडौं । नेपालमा निर्माण सामग्री उत्पादनको क्षेत्रमा नयाँ युगको शुरुवात गर्दै आइएमई ग्रुपले डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरेको ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग’ आजदेखि सञ्चालनमा आएको छ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित यो अत्याधुनिक उद्योगको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक विशेष समारोहबीच गरे। उनले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र पूर्ण अटोमेटेड प्रणालीमा आधारित निर्माण सामग्री उत्पादन हुने यस्तो उद्योगको स्थापना नेपालका लागि औद्योगिक उन्नतिका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका संस्थापक चन्द्र प्रसाद ढकालले यो उद्योगले आयात प्रतिस्थापनसँगै निर्माण क्षेत्रमा आत्मनिर्भरता र रोजगारी प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले स्वदेशी स्रोत, सीप र प्रविधिको प्रयोगमार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको उत्पादन सम्भव भएको तथ्यसमेत औंल्याए।
पूर्णतः अटोमेटेड प्रणालीमा सञ्चालन हुने यस उद्योगमा दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने क्षमता छ। ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइसम्म उपलब्ध यी बोर्डहरू अग्नि–प्रतिरोधी, जल–विरुद्ध प्रतिरोधी, वातावरणमैत्री र दीर्घकालीन टिकाउपनयुक्त छन्।
यी बोर्डहरूको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचनदेखि आपत्कालीन संरचना निर्माणसम्म विभिन्न प्रयोजनमा सहज रूपमा गर्न सकिन्छ। निर्माणमा इँटा र प्लास्टरको विकल्पका रूपमा समेत उपयोग गर्न सकिने भएकाले समय, लागत र दक्षतामा उच्च प्रभाव पार्ने विश्वास गरिएको छ।
उद्योगमा हाल २०० जना प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन्, जसमा ९८% स्थानीय जनशक्ति र ४०% महिला सहभागिता रहेको कम्पनीले जनाएको छ। एभरेष्ट फाइबर सिमेन्ट बोर्डले निकट भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उत्पादन निर्यात गर्ने योजना बनाएको छ।