सरकारले थप २६०१ जनालाई सहिद बनाउने तयारी,

माघ १०, काठमाडौँ।  नेपाल सरकारले थप २६०१ जनालाई सहिदकाे सूचीमा समेट्ने तयारी गरेकाे छ । गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सहिदको संख्या हाल १२ हजार १ सय ९७ जना छ । उल्लेखित संख्या थपेर सहिदकाे संख्या १४ हजार ७ सय ९८ जना पुर्याउन लागिएकाे हाे । 

गएको पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयबाट थप २ हजार ६ सय १ जनाको सूची प्राप्त भएको र त्यसलाई राजपत्रमा प्रकाशन गर्ने अन्तिम तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

सरकारले २०६६ सालमा मोदनाथ प्रश्रितको संयोजकत्वमा र २०६८ सालमा नवराज सुवेदीको अध्यक्षता आयोग गठन गरेर थप गर्नुपर्ने सहिदकाे सूची तयार गरेकाे हाे । 

आजदेखि सहिद सप्ताह सुरु भएको छ । तत्कालीन राणाशासनको विरोध गरेको आरोपमा १९९७ सालमा ४ जनालाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ ।

सहिद परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गर्छ । थप २६०१ जनालाई सहिदकाे सूचीमा समेट्दा राज्यलाई दुई अर्ब ६० कराेड व्ययभार थपिन्छ । कतिपय राजनीतिक दलले राजनीतिक स्वार्थपूर्ति गर्न र कतिपयले १० लाख पाउने लोभमा सहिद घोषणा गर्नुपर्ने माग अघि सार्दै आएका छन् । 

प्रतिक्रिया