काठमाडौँ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैंककमा थाई व्यवसायीहरूसँग भेटवार्ता गर्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ।
बैंककमा आयोजित उक्त भेटवार्तामा भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई लगानीका लागि उर्वर भूमि भन्दै विदेशी लगानीकर्ताहरूको लागि मैत्रीपूर्ण वातावरण निर्माण भइसकेको जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरूलाई सम्बोधन गर्दै नेपालमा लगानीको सुरक्षाका लागि आवश्यक कानुनी सुधार र संशोधनहरू गरिसकिएको बताउँदै लगानीकर्ताहरूको हित सुरक्षित हुने प्रत्याभूति समेत दिनुभयो।
“नेपालले पछिल्लो समयमा लगानी मैत्री कानुन निर्माण गरेको छ। हामी निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी बढाउन चाहन्छौं,” प्रधानमन्त्री ओलीले भन्नुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो।
“नेपालमा कानुनी सुधार हुँदै लगानीमैत्री वातावरण बनेको छ। भारत र चीनजस्ता विशाल बजार नजिक भएकाले नेपालमा लगानी गर्दा निर्यातमा फाइदा लिन सकिन्छ,” अध्यक्ष ढकालले भन्नुभयो।
ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र निर्माणजन्य उद्योगलगायत क्षेत्रहरूमा लगानीको सम्भावना रहेको उल्लेख गर्नुभयो। साथै, पछिल्लो नीतिगत सुधारका कारण बाह्य लगानीकर्ताको आकर्षण बढेको पनि जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंककमा रहेको छ।
भ्रमणकै क्रममा नेपाल र थाइल्याण्डबीच दुईवटा सरकारी तथा छवटा गैरसरकारी गरी जम्मा आठवटा सम्झौतामा हस्ताक्षर भएको छ।