पुष २६, काठमाडौँ । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई २ करोड १० लाख लिटर दूध बिक्री गरेबापत दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई ६ करोड ३७ लाख अनुदान दिन लागेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका २ वर्ष प्रतिलिटर १ र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर ३ अनुदान दिइँदै छ ।
गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ । बजेटमा ५ करोड ५० लाख दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिइन । उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने नेपालकै पहिलो स्थानीय तह भरतपुर हो ।
किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ । अघिल्लो वर्ष दूधमा अनुदान ५ करोड १० लाख दिइएको थियो । दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । उनले भनिन, “अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ ।”
महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम बितरण गरिने छ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताए । उनले भने, “हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ ।” कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले जानकारी दिए ।
महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा हालिने उनले बताए ।