काठमाडौँ। घर बनाउँदा हामीले एउटै ठेकदारलाई जगदेखि फिनिसिङसम्मका काम दिन पनि सकिन्छ। होइन भने संरचना निर्माण, मोडुलर किचन, इन्टेरियर डिजाइन, फर्निसिङ लगायत अनेक कामका लागि फरक–फरक ठेकदार लगान पनि सकिन्छ। त्यो हामी इच्छाशक्तिमा निर्भर रहन्छ।
तर गाउँघरमा वा स्थानीय रूपमा उपलब्ध ठेकदार होस् या दर्तावाला निर्माण कम्पनी, आफूले सोचे र भनेजस्तो घर बनाउन जुन पायो त्यहीलाई सजिलै दिन सकिँदैन। राम्रो निर्माण कम्पनीलाई जिम्मा दिन कतिपय अवस्थामा लगानी धेरै लाग्ने हुँदा खर्च धान्न सकिँदैन। यस्तो अवस्थामा धेरैले मानिसहरूले रोज्ने भनेको स्थानीय ठेकदार नै हुन्। सजिलै र केही सस्तो दरमा काम गर्ने र उपलब्ध हुनाले धेरैलाई स्थानीय ठेकदारप्रति आकर्षण बढिरहेको छ।
ठेकदार छनौट र लिखित सम्झौताबिना काम गर्दा नेपालमा ८० प्रतिशत घरधनी र ठेकदारबीच कुनै न कुनै लफडा पर्ने गरेको पाइन्छ। घरको डिजाइन हेर्न नजानेर आयोजना अलपत्र परेको, समयमा निर्माण नसकिएको वा खर्चिलो बनेको, निर्माणमा समस्या झेल्नु परेकाले ठेकदार नै भाग्ने गरेका घटना बेलाबेला आइरहन्छ। ठेकदारबारे राम्रोसँग जानकारी नलिइ काम जिम्मा दिँदा यस्ता समस्या झेल्नु पर्ने हुन्छ।
नयाँ बन्ने घर, त्यसमा पनि ढलान गरी बनाइने बहुतले घरमा सानो गल्तीले दीर्घकालमा ठूलै समस्या निम्त्याउन सक्छ। त्यसैले कामदार, मिस्त्री वा ठेकदार छनौट गर्दा एकदमै समय र ध्यान दिएर छनोट गरेमा यस्ता समस्याबाट बच्न सकिन्छ।
घर बनाउने ठेकदार कसरी छान्ने? के-के कुरामा ध्यान दिने?
सकभर त हामीले दर्ता भएका निर्माण कम्पनीलाई नै ठेक्काको जिम्मा दिनु राम्रो हुन्छ किनभने निर्माणका क्रममा केही खराबी वा त्रुटि भएमा दर्ता कम्पनीहरू स्वयं जिम्मेवार हुन्छन्। घर बिग्रिएमा क्षतिपूर्ति माग गर्न समेत सकिन्छ र कम्पनीले बेहोर्नु पनि पर्छ। निर्माणपछि मर्मत सुविधा पनि हुन्छ।
तर स्थानीय ठेकदारको हकमा भन्नुपर्दा काम बिग्रिएपछि भाग्ने वा आलटाल गरेर उल्टै घरधनीलाई समस्यामा पार्ने गरेको यदाकदा हामी सुनिहरेका हुन्छौँ। सहरी क्षेत्रका घरमा हरेक तलामा भान्साकोठा, अट्याच बाथरूमको चलन आइसकेको छ भने यी सबै काम पक्कासँग गर्नका लागि काम गर्न सक्ने ठेकदार रोज्नुपर्छ।
सजिलै उपलब्ध हुने, पैसामा सम्झौता गर्न सकिने, कम पैसा लाग्ने हुँदा घर धनीले स्थानीय ठेकदारलाई काम लगाइरहेका हुन्छन्। यस्ता ठेकदारले वर्षौंदेखि निर्माण क्षेत्रमा काम त गरेका हुन्छन्, तर उनीहरूसँग प्राविधिक ज्ञान र व्यक्ति नहुन पनि सक्छ।
ढल निकासी विधि, पानी, बिजुली आपूर्ति लगायत कुरा अनिवार्य आवश्यकता हुन्। यहाँ पुरानो सीप र प्रविधिले मात्रै काम गर्दैन। ठेकदारसँग दक्ष प्राविधिक र कामदार हुनु उतिकै आवश्यक हुन्छ। नेपालमा भूकम्पपछि प्राविधिकको महत्व अझै बढेको छ।
सबै व्यक्तिको पहुँचमा निर्माण कम्पनीसँग काम गर्ने बजेट नहुन पनि सक्छ। यदि यस्तो नभएको अवस्थामा हामीले रोजेका वा कुनै दर्ता नभएका ठेकदारसँग प्राविधिक पाटो सम्हाल्ने दक्ष छ वा छैन बुझेर ठेक्काको जिम्मा दिनुपर्छ।
घरको भित्री र बाहिरी संरचनामा परम्परागतभन्दा व्यापक भिन्नता पाइन्छ। यदि ठेकदारसँग प्राविधिक छैन भने ठेकदारले नक्सा हेर्न जान्दैन र डिजाइन अनुसारको घर पनि बन्ने सम्भावना न्यून हुन्छ।
डिजाइन अनुसार काम गर्न नसक्ने ठेकदारलाई जिम्मेवारी दिनु हुँदैन। ऊसँग प्राविधिक भए मात्रै विश्वास गर्नुपर्छ र काम गर्दै जाँदा डिजाइन वा प्राविधिक गडबढी भयो भने ठेकदार भाग्न सक्छन् भने घरको लागत र नोक्सानी दुवै घरधनीले नै बेहोर्नुपर्छ।
हिजोआज घरको नक्सा डिजाइन गर्ने कम्पनीसँग घरधनीले घर निरीक्षण प्याकेज लिनसक्ने सुविधा आएको छ यो सुविधा प्रयोग गरेर पनि स्थानीय ठेकदारसँग काम गर्न सकिन्छ।
यस्तै ठेकदार छनौट गर्दा उसले निर्माण गरिदिएका पहिलेका घरहरूको पनि अध्ययन गर्नु राम्रो हुन्छ। घरबेटीसँग घर निर्माणको चरणमा कुनै समस्या आइपरे वा ठेकदारसँग काम गर्ने वातावरणका बारेमा बुझ्न सकिन्छ।
लोकल ठेकदारसँग प्राविधिक छ भने पनि काम गर्ने टिम, काम गरिरहेको साइट हेर्न वा काम सम्पन्न भएको घरबेटीसँग कुराकानी गर्न सकिन्छ किनकी पहिलेका घरधनी उक्त ठेकदारको कामबाट सन्तुष्ट भए नभएको बेलैमा पत्ता लाग्छ र अर्को विकल्प खोज्न सजिलो हुन्छ।
यो कुरा स्थानीय ठेकदार र निर्माण कम्पनी दुवैको हकमा लागू हुन्छ। सबै कम्पनीले राम्रो काम गर्छन् भन्ने हुँदैन। पहिलेको काम र घरबेटीसँग परामर्श लिँदा थप स्पष्ट हुन सकिन्छ।
ठेकदार रोज्दा पैसाको कुरामा लिखित सम्झौता नै गर्नुपर्छ। लिने र दिने पक्षबीच स्पष्ट नहुँदा काम अलपत्र पर्न सक्छ। यसको प्रत्यक्ष असर घरधनीलाई धेरै पर्दछ। मौखिक र लिखित सम्झौता गरी कामको किसिम र भुक्तानी प्रणालीबारे सहमत भए भैपरी आउने समस्याबाट बच्न सकिन्छ।