काठमाडौँसहित यी स्थानमा बर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

weather forecast

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जसकारण  हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ। आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरू भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको थियो।

पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून पर्‍यो। काठमाडौँ उपत्यकालगायत केही स्थानमा हिजो साँझ सामान्य वर्षा भएको थियो। पश्चिममा गएको २४ घण्टामा डडेलधुरामा ९ मिलिमिटर, दिपायलमा ४ मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा समेत भएको छ। 

आजबाट मौसम क्रमिक रूपमा सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीको मुख्य असर पश्चिम नेपालमा पर्ने र काठमाडौँ उपत्यकासम्ममा वर्षा गराउने मौसमविद्ले बताएका छन्। 

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

प्रतिक्रिया