काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणको सफलतापछि कम्पनीले यसपटक अझ आकर्षक पुरस्कारसहित यो क्याम्पेन ल्याएको हो। क्याम्पेन अन्तर्गत सहभागी ड्राइभरहरूले ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल तथा विभिन्न स्मार्ट ग्याजेटहरू जित्ने अवसर पाउनेछन्।
कम्पनीले जानकारी गराए अनुसार, आगामी जुन १६ देखि जुन २२, २०२५ सम्म ड्राइभरहरूले कम्तीमा ३५ ओटा राइड पूरा गरी प्लेटिनम स्ट्याटस हासिल गरेपछि गिभअवे क्याम्पेनमा भाग लिन योग्य हुनेछन्। त्यसपछि, जुन २३ देखि जुलाई १३ सम्म ड्राइभरहरूले विक्ली च्यालेन्जहरूमा सहभागिता जनाउन पाउनेछन्, जसमा साप्ताहिक पुरस्कारहरू जित्ने अवसरसमेत हुनेछ।
तीन सातासम्म चल्ने यस क्याम्पेनमा हरेक हप्ताका विजेता घोषणा गरिनेछ भने ग्राण्ड प्राइज विजेताको घोषणा आगामी जुलाई १७ मा गरिने बताइएको छ। क्याम्पेनका ग्रान्ड प्राइजहरूमा क्याब ड्राइभरका लागि टाटा एक्सप्रेस ईभी कार र बाइक राइडरका लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ। साथै, १५ स्मार्टफोन, ३० स्मार्टवाच र ३० इयरबड्स समेत उपहारस्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
इनड्राइभ साउथ एसियाका रीजनल ड्राइभर अपरेसन टिम लिडर डिमित्री ओख्लोप्कोभले क्याम्पेनबारे प्रतिक्रिया दिंदै भने, "हाम्रो सफलताका मुख्य आधार ड्राइभरहरू नै हुन्। यो कार्यक्रम उनीहरूको कडा परिश्रम र समर्पणलाई कदर गर्ने हाम्रो प्रयास हो।"
त्यस्तै, इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले पनि कार्यक्रममा उत्साह व्यक्त गर्दै ड्राइभरहरूको योगदानलाई सम्मान गर्ने यो सुनौलो अवसर नछुटाउन आग्रह गरेकी छन्।
यस क्याम्पेनमार्फत इनड्राइभले नेपालको ड्राइभर समुदायलाई थप प्रेरित गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।