काठमाडौँ। नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बिमित) भएको जिल्लाको रूपमा रहेको छ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाका अनुसार झापामा सात लाख ६२ हजार ६८६ जना बिमित भएका छन्।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार ७ सय ९० जना बिमित छन्। झापा पछि बिमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथोँ) रहेका छन्।
मोरङमा ६ लाख १ हजार ४ सय २९ जना, सुनसरीमा ५ लाख ७५ हजार ६ सय ९५ जना र चितवनमा ५ लाख ६५ हजार ७ सय १० जना बिमित छन्। झापामा कुल जनसङ्ख्याको ६९ दशमलव ६७ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको जनाइएको छ।
१५ पालिका रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी बिमितको सङ्ख्या दमक नगरपालिकामा रहेको छ भने कम सङ्ख्या झापा गाउँपालिकामा रहेको छ।
दमकमा १ लाख ११ हजार ८० जना अर्थात त्यहाँको जनसङ्ख्याको १ सय ३ प्रतिशत बिमित रहेका स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाले जानकारी दिएको छ।
भुटानी शरणार्थी र घर भाडामा बस्नेको बिमा भएको हुँदा दमकमा नगरको जनसङ्ख्याभन्दा धेरै बिमित रहेको झापा कार्यालयले जनाएको छ। सबैभन्दा थोरै बिमित रहेको झापा गाउँपालिकामा १४ हजार ९ सय ७४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी छन्। जनसङ्ख्याको तुलनामा बिमितको सङ्ख्या ३८ प्रतिशत मात्र रहेको छ।
यसैगरी, अर्जुनधारा नगरपालिकामा ४९ हजार सात सय ६९, भद्रपुरमा ५५ हजार ८३, बाह्रदशी गाउँपालिकामा २० हजार ३ सय २७, विर्तामोडमा ८१ हजार ९ सय ४९, बुद्धशान्ति गाउँपालिका ३८ हजार ६ सय ४७ र गौरादह नगरपालिकामा ४६ हजार ९ सय ३१ जना बिमित भएका छन्।
गौरीगञ्ज गाउँपालिकामा १९ हजार ४ सय १०, हल्दिबारीमा २५ हजार ९, कचनकवल गाउँपालिकमा २६ हजार दुई सय ६७, कमल गाउँपालिकामा ४८ हजार ३ सय १२, कनकाई नगरपालिकामा ४१ हजार ९ सय ११, मेचीनगरमा ७८ जार ६ सय ५२, शिवसताक्षीमा ५७ हजार ४ सय ९ जना बिमित रहेका छन्।
प्रादेशिक अस्पताल भद्रपुरसहित जिल्लाका १४ वटा प्राथमिक सेवा प्रदायक संस्थाबाट बिमितले सेवा लिइरहेका छन्।
रेफर भएका बिमितले विर्तामोडको विएन्डसी, कनकाई अस्पताल, भद्रपुरको ओमसाई पाथीभरा, दमकको निम्स, आम्दा र दमक अस्पतालबाट बिमितले सेवा पाइरहेको झापा कार्यालयले जनाएको छ।