आजको व्यस्त जीवनशैली र विश्वव्यापी आवागमनको युगमा, यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ले यात्रुहरूको लागि सुरक्षा कवचको भूमिका खेल्न थालेको छ। चाहे व्यापारिक भ्रमण होस् वा मनोरञ्जनात्मक अवकाश, यात्राको क्रममा सानो गल्ती वा अप्रत्याशित घटनाले ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले, यात्रा सुरु गर्नु अघि ट्राभल इन्स्योरेन्स अनिवार्य बन्न थालेको छ।
ट्राभल इन्स्योरेन्स एउटा यस्तो बीमा हो जसले यात्राका क्रममा सम्भावित जोखिम र घटनाहरू (जस्तैः बिरामी, दुर्घटना, लगेज हराउने, यात्रा रद्द हुने वा ढिलाइ हुने) मा यात्रुलाई आर्थिक सुरक्षा प्रदान गर्छ। विशेषगरी अन्तर्राष्ट्रिय यात्रामा यस्तो बीमाको महत्व झनै बढेको देखिन्छ। युरोपेली देशहरू लगायतका धेरै मुलुकहरूले त ट्राभल इन्स्योरेन्स अनिवार्य गरिसकेका छन्।
विभिन्न घटनाहरुले देखाउँछ कि जति नै तयारीसाथ यात्रा गरिए पनि संकट आइपर्न सक्छ। यस्तै अवस्थामा ट्राभल इन्स्योरेन्सले उपचार खर्च, टिकट परिवर्तन, होटेल बुकिङको क्षतिपूर्ति जस्ता आवश्यक सेवा र राहत दिन सक्छ।
नेपालमा हाल १४ वटा निर्जीवन बीमा कम्पनीहरू ट्राभल इन्स्योरेन्स प्रदान गरिरहेका छन्।
ट्राभल इन्स्योरेन्समा समेटिने मुख्य लाभहरूमा निम्न समावेश छन्:
आकस्मिक बिरामी वा अस्पताल भर्ना खर्चको व्यवस्थापन, उडान ढिलाइ वा रद्द भएमा खर्चको क्षतिपूर्ति, लगेज हराउँदा वा ढिलो आइपुग्दा भोगिने असुविधाको राहत, यात्रा रद्द गर्नुपर्ने विशेष कारणहरू (जस्तै, स्वास्थ्य, मृत्यु, पारिवारिक आपत्) का लागि क्षतिपूर्ति, दुर्घटना, मृत्यु वा स्थायी अपांगताको अवस्था ।
यात्रा बीमा भनेको बीमा कम्पनीले समस्याबाट बचाउने होइन, समस्या परेपछि आर्थिक राहत दिने माध्यम हो। बीमा कम्पनी डाक्टर वा पासपोर्ट अफिस होइन, तर यसले तपाईलाई त्यो क्षणको तनाव घटाउने भरपर्दो सहयोग अवश्य गर्छ।
अब नेपालका आम यात्रुहरूबीच पनि ट्राभल इन्स्योरेन्सप्रति रुचि बढ्दो छ। छोटो यात्राका लागि पनि अब बीमा गराउन सकिने भएकाले सजग यात्रुको लागि यो नयाँ आवश्यकताको रूपमा स्थापित हुँदैछ। आजको दिनमा सुरक्षा मात्र होइन, जिम्मेवार यात्राको चिन्ह पनि बन्न थालेको छ ट्राभल इन्स्योरेन्स।