कांग्रेस बैठकमा संविधान पुनरावलोकन गर्नुपर्ने विषय प्रवेश

पुष १४ काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान पुनरावलोकनको बिषय उठेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकको तेस्रो दिन केन्द्रीय सदस्य एवम् संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले संविधान पुनरावलोकन गर्नुपर्ने बेला भएको बताएका हुन् । 

"यो संविधान जारी भएको ८ वर्ष भइसक्यो ।  ८ वर्षमा यसको अभ्यास पनि हामीले हेरेका छौँ , उनले बैठकमा भने, "मलाई के लाग्छ भने संविधानका मूल तत्त्वहरूलाई प्रभावित नगर्ने गरी संविधानको कार्यान्वयनका समीक्षा र पुनरावलोकनमा जानुपर्छ ।"  

कांग्रेसले संविधान पुनरावलोकनका लागि पहल र प्रयत्न गर्नुपर्ने नेता लेखकको भनाइ थियो । लेखकले बैठकमा प्रवेश गराएको संविधान पुनरावलोकनको विषयमा अन्य नेताहरुले बहस गरेका थिए । 

केन्द्रीय सदस्य बलबहादुर केसीले अहिले संविधान पुनरावलोकन गर्न नहुने मत राखेका थिए । तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लेखकको प्रस्तावको पक्षमा उभिएका थिए । 

यस्तै बैठकमा नेता लेखक सरकारको समीक्षाबारे बैठकमा आएका दुई वटा दृष्टिकोण अतिवाद भएको बताए । "सरकारबाट सबै कुरा ठीक भएको छ । केही पनि बिग्रिएको छैन भन्ने एउटा काेण छ । अर्काे साह्रै कुरा बिग्रिएको छ । केही पनि ठीक भएको छैन भन्ने छ । यो दुईवट‌ै अतिवाद हो," उनले भने । 

वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै त्यसलाई प्रभावकारी र क्रियाशील बनाउन नेता लेखकले जोड दिए । "हाम्रो राजनीतिक अवस्थले गठबन्धन विकल्प छैन । हामीले गठबन्धन नगरे अर्काले गर्छ," उनी भन्छन्,  "यसै गठबन्धनलाई प्रभावकारी  र क्रियाशील बनाउनुपर्छ । सरकारले धेरै काम गर्न बाँकी छन् । धेरै कुरा हुन सकेको यथार्थ हो ।" 

यस्तै आर्थिक सुचांक राष्ट्र बैंककाे तथ्यांक र मन्त्रीका भाषणमा हाेइन जनताको जीवन पद्धतिमा सकारात्मक देखिनुपर्ने बताए । "मैले एक वर्षमा ८० रुपियाँमा किनेको औषधि आज मैले २५० मा किनेको छु । सरकारी दस्ताबेजले मूल्य नियन्त्रण भएको छ भन्ने कुरा पनि मैले कसरी मान्ने ? जनताको जीवनमा देखिँदै त्यो," लेखकले भने ।

प्रतिक्रिया