काठमाडौँ। केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानै देखि भक्तजनहरूको भीड लागेको छ। मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला गरिको छ।
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुला गर्ने र डोलेश्वरको शिलामा पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।
मन्दिरमा बिहान ४ बजेदेखि चारवटै ढोका खुला गरेर दर्शनको व्यवस्था गरेको र बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ भने डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते हरेक वर्ष तीन दिन मात्र मन्दिरका चारवटै ढोका खुला गरेर शिला छोएर पूजा गर्ने व्यवस्था मिलाइएको समितले जनाएको छ।
यसैबीच, डोलेश्वरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ। समितिले भगवान् शिवको विशेष महिना मानिने साउन १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी सुरू भएको श्रावणी मेला पनि आज समापन हुँदैछ।
डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले आज सूर्यविनायक नगरपालिकाले नगर पालिका क्षेत्रमा सार्वजनिक बिदाको दिएको छ। विक्रम संवत् २०६६ साल भदौ ६ गते मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो।